मिश्रको निधनले पर्यटन क्षेत्रमा अभाव खड्कियो’


काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकको पर्यटन क्षेत्रमा अभाव खड्किएको यस क्षेत्रका विज्ञहरुले औँल्याएका छन् । मिश्रको सम्झनामा प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज सोमबार आयोजना गरेको शोकसभाका वक्ताले पर्यटन क्षेत्रका सिद्धहस्त व्यक्तिको निधनले पर्यटन क्षेत्रलाई मर्माहत तुल्याएको बताए ।

पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन र नेपाल गन्तव्यबारे अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न मिश्रको योगदान अतुलनीय रहेको बताए । “मिश्रको निधनबाट पर्यटन क्षेत्रमा अभाव महसुस भएको छ”, उनले भने, “अन्तर्राष्ट्रिय पर्यटन मेलामार्फत नेपाललाई विश्वभर पहिचान गराउन पनि उनको उत्तिकै योगदान छ ।

आत्मीय, समाजसेवी र भिजनरी व्यक्तित्व मिश्रले देखाएको बाटोमा अगाडि बढ्नसके मात्रै उनप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले मिश्रको निधनले पर्यटन क्षेत्रको अभिभावक गुमाएको भन्दै उनले अगाडि सारेका अभियानलाई निरन्तरता दिएर नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।पर्यटन व्यवसायी योगेन्द्र शाक्यले नेपाली पर्यटन क्षेत्रका पायोनियर मिश्रको निधनले पर्यटन क्षेत्रमा गहिरो क्षति पुगेको बताए ।

पाटा नेपालका पूर्व अध्यक्ष आर आर पाण्डेले दिगो पर्यटन विकास र वातावरण संरक्षणमा मिश्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । पाटा नेपालका अर्का पूर्व अध्यक्ष विभूतीचन्द ठाकुरले मिश्रसँगको बाल्यकालदेखि व्यावसायिक जीवनका विभिन्न आयामहरुको स्मरण गराए ।पाटा नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाईले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न मिश्रले खेलेको भूमिकालाई नयाँ पुस्ताले आत्मसाथ गरेर अगाडि बढ्नसक्नुपर्नेमा जोड दिए ।

पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं व्यवसायीको सहभागितमा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष मिश्रको सम्झनामा शोकसभा आयोजना गरिएको हो । मिश्रको यही कात्तिक ४ गते उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो । ‘टेम्पल टाइगर ग्रुप अफ कम्पनी’का अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय रहेका थिए । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन उनले महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रतिक्रिया