बक्यौता महसुल बुझाउने तीन उद्योगको बिजुली लाइन जोडियो

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता महसुल बुझाएका तीन उद्योगलाई पुनः बिजुली दिएको छ। भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले आफ्नो २ लाख ५ हजार बक्यौता पूरै बुझाउँदै सेवा पुनः सुरु गरेको छ। त्यस्तै, सर्वोत्तम सिमेन्टले पनि ११ करोड ९६ लाख बक्यौता मध्ये ३७ लाख रुपैयाँ पहिलो किस्तावापत बुझाएको छ। प्राधिकरणले किस्तामा बक्यौता बुझाउनसक्ने सुविधा दिएकोले यस किस्ताबन्दीलाई स्वीकारेको छ । साथै, अर्को उद्योगले पनि बक्यौता तिरेको भएता पनि नाम गोप्य राख्न प्राधिकरणलाई आग्रह गरेको छ। तर, प्राधिकरणले बक्यौता वा किस्ता नबुझाएका २९ उद्योगलाई भने विद्युत् लाइन नजोड्ने आफ्नो अडान कायमै राखेको छ ।

यसैबीच प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेपछि उद्योगी व्यवसायीहरू प्राधिकरणप्रति आक्रोशित भएका छन्। उद्योगी व्यवसायीहरूले प्राधिकरणले लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गरी विद्युत् उपभोग गरेको प्रमाण दिन आग्रह गरेका छन्। प्राधिकरणले विद्युत् महसुल प्रयोग गरेको प्रमाण दिए अथवा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भए बक्यौता तिर्न आफूहरू तयार रहेको उनीहरुको भनाइ छ। 

प्रतिक्रिया