माओवादी केन्द्रद्वारा पार्टी पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ । केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेश गर्दैछन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले सबै केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको एकमुस्ट जवाफ पनि दिँदैछन् । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समिति बैठकमा चार दिनसम्म २ सय २१ जना नेताले आफ्ना धारणा राखेका छन् । आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन अध्यक्ष दाहालले आग्रह गरेका छन् । आज दाहालले जवाफ दिएपछि केन्द्रीय समितिको बैठक सम्पन्न हुने बताइएको छ । केन्द्रीय सदस्यहरूले राखेका धारणालाई राजनीतिक दस्तावेजमा समेटिने बताइएको छ । प्रतिवेदनका साथै तीन महिने राजनीतिक अभियान लिएर जनतामा जाने माओवादीको तयारी छ । 
 

प्रतिक्रिया