महसुल नतिर्ने उद्योगीलाई पुनको प्रश्न: चरम लोडसेडिङ खेपेका जनता बिरोधमा उत्रिए परिणाम के हुन्छ ?

काठमाडौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा डेडिकेटेड र ट्रंक लाइन विद्युत् सेवा उपभोग गरेर विद्युत् महसुल नतिर्नेलाई कारवाही हुनसक्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले डेडिकेटेड र ट्रंक लाइन विवादबारे विद्युत् प्राधिकरणको नियमावलीअनुसार महसुल तिर्न अटेरी गर्ने उद्योगीमाथि विद्युत् चोरीको कसुरमा कारबाही हुन सक्ने चेतावनी दिएका हुन्। 

पुनले उद्योगीहरूलाई बिना अर्घेल्याईं तोकिएको महसुल तिर्न आग्रह गर्दै एकैपटक नसके नियमानुसार किस्ताबन्दीको सुविधा प्रयोग गर्नसमेत सुझाए। 

‘सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङ खेपेका बेला उद्योगमा २४सै घण्टा डेडिकेटेड र ट्रंक लाइनको नाममा ३ सय १५ मेगावाट विद्युत् उपयोग गरेको कुरा उद्योगीहरू वा अहिले सरकारमा बसेकाहरूले कदापि बिर्सन मिल्दैन’, पुनले लेखेका छन्, ‘प्राधिकरणको विनियमावलीले अतिरिक्त समयमा विद्युत् प्रयोग गर्नेले महसुल नतिरे चोरीमा कारबाही गर्नेसम्मको व्यवस्था गरेको छ । त्यो व्यवस्था महसुल तिर्न अटेरी गर्ने उद्योगहरूका लागि आकर्षित हुन सक्छ।’ 

महसुल तिर्न अटेरी गर्नेहरूलाई उनले प्रश्न गरेका छन्, ‘१८ घण्टा लोडसेडिङको पीडा खेपेका जनता तपाईँहरूका विरुद्ध उत्रिए भने त्यसको परिणाम के हुन्छ भन्ने सोच्नुभएको छ ?’ ।  

अधिकांश सार्वजनिक संस्थान धराशायी अवस्थामा रहेका बेला नेपाल विद्युत् प्राधिकरणलाई आफूहरूले मुलुककै शान र गर्व गर्न लायक संस्था बनाएको भन्दै पुनले यो मन नपराउने तत्त्वहरूले पटकपटक प्राधिकरणलाई कमजोर र धराशायी बनाउने असफल प्रयास गर्दै आएको आरोप लगाए । 

 

प्रतिक्रिया