स्वदेशी  फूल प्रयोग गर्न आग्रह

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेका छन् । 

आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् । 

तिहारको समयमा प्लाष्टिकका फूलमालाले बजार नै छपक्कै ढाकिन्छ । यस्ता प्लाष्टिकका फूलमालाले वातावरणमा समेत असर पार्ने र स्थानीय उत्पादनको खपत कम गर्ने हुँदा यहाँका आठवटै स्थानीय तहले केही समय पहिले नै सार्वजनिक सूचना जारी गर्दै प्लाष्टिकका फूलमाला बिक्री वितरण वितरणमा रोक लगाएका छन् । साथै स्थानीय फूल र मालाको प्रयोग गर्न सूचनामार्फत अनुरोध गरेका छन् । 

स्थानीय स्तरमा पुष्पखेती गर्ने किसानलाई प्रवद्र्धन गर्न यहाँका कतिपय पालिकाले बीउबिजनमा अनुदान उपलब्ध गराएको थियो । कावासोती नगरपालिका उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकामा रहेर पुष्प व्यवसाय गरेका किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्लाष्टिकका फूलमालामा रोक लगाएको बताइन्। 

उनले सामाजिक सञ्जालको प्रयोग गरी, स्थानीय पुष्पखेती गर्ने किसानसँग समन्वय गर्दै उनीहरूको सम्पर्क नम्बर सहित पालिकाको पेजमार्फत सूचित गर्ने काम गरिएको बताइन् । पालिका भित्रका उपभोक्ताले पायक पर्ने किसानसँग सोझै सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने फूलमाला खरिद गर्नसक्ने थनेतको भनाई छ ।  पालिका भित्र १२ स्थानमा पुष्पखेती गरिएको र कावासोतीलाई आवश्यक पर्ने फूलमाला यहीको उत्पादनले पुग्ने विश्वास लिएको उनले बताइन् ।

जिल्लाको देवचुली नगरपालिकाले समेत युवा लक्षित पुष्पखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय उत्पादनबाट नै पालिकाको माग पूरा गर्न पुष्पखेतीमा बीउ बिरुवामा अनुदान उपलब्ध गराइएको नगर उपप्रमुख पार्वता तिवारीले बताइन् ।

तिवारीले देवचुलीमा प्लाष्टिकका फूलमालालाई प्रतिबन्ध गरेको पनि बताइन् । तिवारीका अनुसार स्थानीय पुष्पखेती गर्ने किसानलाई हौसला दिन र वातावरण स्वच्छ राख्नका लागि किसानले उत्पादन गरेका फूलको प्रयोग गर्न पालिकावासीमा अनुरोध गरिएको छ । उनले स्थानीय किसानले उत्पादन गरेका फूलमालाको बजारीकरणमा पालिकाले समन्वय र सहजीकरण गर्ने बताइन् ।

विनयी त्रिवेणी गाउँपालिकाले पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साह गर्दै उत्पादनको बिक्री वितरणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । पालिकाले प्लाष्टिकका फूलमालालाई निरुत्साहित गर्दै स्थानीय किसानले लगाएको फूलमाला प्रयोगमा जोड दिन पालिकावासीमा आग्रह गरेको छ । “पालिकाले स्थानीय पुष्पखेती गर्ने किसानसँग सहकार्य गर्दै उपभोक्ताको सहजताका लागि किसानको नाम ठेगाना र नम्बरसहितको सूचना पालिकाको फेसबुक पेजमार्फत र वेभसाइटमार्फत सम्प्रेषण गरेको छ, हाम्रो धारणा स्थानीय फूलले सहज बजार पाओस भन्ने हो”।  अध्यक्ष गिरीले भने । यस कार्यले किसानको पुष्पखेतीको बजारीकरणमा सहयोग पुग्ने विश्वास लिएको नको भनाइ छ । उपभोक्ताले आफ्नो नजिक पर्ने किसानलाई सिधै सम्पर्क गरेर फूलमाला खरिद गर्नसक्ने गिरीले बताए ।

यस्तै जिल्लाको पहाडी पालिका बौदीकालीले समेत पुष्प खेतीलाई प्रोत्साहन गर्दै किसानलाई अनुदानमा बीउ वितरण गरेको थियो । यहाँ व्यावसायिक रुपमा पुष्प खेतीको सुरुआत गत वर्षबाट भएको थियो । पालिका आफैँले बजारीकरणको जिल्ला लिएर रु दुई लाख बराबरको फूलमाला बिक्री वितरण गरेको थियो । यस वर्ष पनि स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साहन गर्दै बजारीकरणमा सहयोग गर्ने पालिका अध्यक्ष प्रकाश ओझाले बताए । 

चाडपर्वमा आवश्यक पर्ने फूलमालाको आयात रोक्दै निर्यात गर्ने लक्ष्यसहित पालिकाले पुष्पखेती गर्ने किसानलाई अभिप्रेरित गरिएको ओझाको भनाई छ ।  आफ्नै नजिक र पायक पर्ने ठूला सहर पोखरा, बुटवल, चितवन, कावासोतीमा फूलमाला निर्यात गर्ने लक्ष्य सहित पुष्पखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराएको र बजारीकरणमा पनि सहयोग गर्ने ओझाले बताए ।
रासस
 

प्रतिक्रिया