पल्पामा फस्टाउँदै  झिनिया रोटीको व्यवसाय

रामपुर (पाल्पा) । पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । 

यतिबेला झिनिया रोटीकोे व्यापारमा उनीहरुको ब्यस्तता  बढेको छ । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउछन् । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन् ।

हाल नौजना कामदार झिनिया उत्पादनमा खटिएका छन् ।  “चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ”, श्रेष्ठले भने । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन उनले झिनिया उत्पादन गर्दे आएका छन् । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ ।

दशैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु एक÷दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उनी बताउछन् ।  

रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका रुद्रनारायण श्रेष्ठ आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी थिइ । पछिल्लो समय उनले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानोरुपमा भए पनि व्यवसाय थालनी गरेको देख्दा खुसी लागेको श्रेष्ठको भनाई छ  । 

हाल खुद्रा मूल्य  एक सय र थोक मूल्य  ९० रुपैयाँमा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको श्रेष्ठ बताउछन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् । 

हाते मेसिनबाट सुरु गरिएको व्यवसाय अहिले भने ठूलै उद्योगको रुपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा विद्युतीय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी बताउँछिन् ।  “दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनिया उत्पादन हुने गरेको छ”, उनले भनिन, “यस व्यवसायबाट दशैँ तिहारमा मात्रै करिब  पाँच लाखदेखि सात लाख बराबरको कारोबार हुने गरेको छ ।” 

महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रुपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उनको भनाई छ ।  महिलाले बिहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलो लगानी नगरिकन सानो लगानीमा व्यवसाय गर्न लक्ष्मीको सुझाव छ ।

विद्युतीय मेसिन जडान गरेपछि यहाँ उत्पादन बढाइएको छ ।  मेसिनबाट उत्पादन गर्न धेरै सजिलो छ । छोटो समयमा धेरै उत्पादन हुने भएपछि व्यवसाय क्रमशः बढाउँदै लगिएको छ । दुई दिनको पूरा घाममा सुकाइएको झिनिया खानयोग्य हुन्छ । साथै रुद्रनारायण श्रेष्ठले कालिका सिन्के चाउचाउ उद्योगसमेत चलाउँदै आएका छन् । आफ्नै घरमा उनले विसं २०६३ देखि चाउचाउ उद्योग सञ्चालन गरिरहेका छन् । 
 
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । 

पहिला बजारमा झिनिया अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनिया बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् ।

झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरुको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ । 

गाउँमा सवारी साधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । 

चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ । 

रासस

प्रतिक्रिया