संविधान संशोधनभन्दा पहिले आवश्यक समीक्षा गर्न जरुरी छः नेता सिटौला

कास्की ।  नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले गम्भीर रुपमा आवश्यक समीक्षा हुनुपर्ने बताएका छन् । कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आज आइतबार पोखरामा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारसम्बन्धी अन्तरक्रियामा उनले संविधानको कार्यान्वयन गदौ देखिएका समस्या, जनहितका पक्ष र आवश्यकताबारे समीक्षा जरुरी रहेको बताए ।

“संविधान कार्यान्वयन गर्दा जनहितमा के के काम गर्न सकियो, जनतासामु गरेका बाचा पूरा गर्ने सवालमा के के समस्या देखिए, त्यसका कारण र समाधान, संविधानमा देखिएका कमजोरीको संयमित भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्छ”, नेता सिटौलाले भने ।उनले वर्तमान सरकारसामु राजनीतिक स्थिरता कायम गर्दै जनहितका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी रहेको धारणा राखे ।

“अहिले नयाँ र साना पार्टीहरुले पुराना अनि ठूला पार्टीले केही गरेन भन्ने गरेका छन्”, उनले भने, “२०४६ सालपछि धेरै विकासका काम भएका छन् । त्यसैले केही गरेकै छैन भन्ने कुरामा म चाहिँ सहमत छैन तर परिवर्तित जनचाहनाअनुसार काम गर्न जरुरी छ ।”पूर्वउपप्रधान तथा गृहमन्त्री सिटौलाले संविधानको मौलिक हकमा व्यवस्था गरिएका उपभोक्ता अधिकारलाई राज्यले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जनता हरेक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन उनले सरकारलाई आग्रह गरे ।  
 

प्रतिक्रिया