साफ माहिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आईतबार दशरथ रंगशालामा भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको शुरुवातमै नेपालकी रेखा पौडेलले दोहोरो कार्ड खाँदै बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि नेपाली दर्शकले मैदानमा बोतल फालेपछि खेल केहीबेर रोकिएको थियो । खेल सुरु भएको केही मिनेटमै भारतकी संगीता बास्फोरले गोल गरिन् । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गरेपनि रेफ्रीले मान्यता दिइनन् । त्यसपछि विवाद भएर झन्डै १ घण्टा खेल रोकियो । त्यसपछि पुनः सूचारु भएको केही मिनेटमै सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा भारतकी कप्तान आशालता देवीले गरेको प्रहार पोस्टमा लागेर फर्कियो ।

सावित्राले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाईन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २–१ को अवस्थामा पुर्‍याईन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २–२ मा ल्याइन् । सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन् । भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् । अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो ।

प्रतिक्रिया