साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित

काठमाडौं ।  साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बनेको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । तनावका कारण अहिले खेल रोकिएको छ । यसअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेन । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।  

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।  दशरथ रङ्गशालामा नै आज आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ । 

प्रतिक्रिया