रविलाई दुर्व्यवहारबारे कास्की प्रहरीको प्रतिक्रिया: भ्रमपूर्ण विचार र सूचना सम्प्रेषण नगर्नू

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ प्रकरण र दुर्व्यवहारमा टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक विचार, सूचना, समाचार सम्प्रेषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले औपचारिक प्रतिक्रिया जनाएको छ।
आइतबार सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले एक विज्ञप्ति जारी गर्दै भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गरेका हुन्। 

‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कास्की प्रहरीले आफूहरू तथ्यपूर्ण अनुसन्धान गर्न सक्षम रहेको उल्लेख गरेका छन् ।यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा समेत अनुसन्धान गरिरहेको छ। लामिछाने यसअघि संगठित अपराध र सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा मुछिएका थिए।

लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ । दोस्रोपटक म्याद थपका निम्ति लैजाँदा अदालत परिसरमा लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालमा लाइभमार्फत असन्तुष्टि जनाएका थिए।

सामाजिक सञ्जालमा पनि प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएकोलगायत विभिन्न भिडियो ‘भाइरल’ छन्। कास्की प्रहरीले सामाजिक सञ्जालमा भ्रमपूर्ण विचार सम्प्रेषण भएको जनाएको छ ।
कात्तिक ८ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थप गराउन लैजाँदा भ्रमक सूचनाहरू आएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया