तिहार नजिकिए सँगै बढ्यो भाइमसलाको व्यापार

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा भाइमसलाको व्यापार बढ्न थालेको छ । 

भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता दिने प्रचलन छ । सोही अनुसार उपभोक्ताले अहिल ेदेखि नै भाइमसला किन्न थालेका हुन् । 

तिहारमा बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ । जस कारणले गर्दा पनि व्यवसायीले तिहार लक्षित ठूलो परिमाणमा बाहिरी मुलुक बाट भाइमसला आयात गरेका छन् । भाइमसलाको मूल्य भने केहीमा सामान्य बढे पनि विगतका वर्ष सरह रहेको छ । सुकुमेल र काजुको मूल्य बढे पनि अन्य भाइमसलाको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको बताइएको छ । 

बजारमा काजु प्रतिकिलो दुई हजार रुपैयाँ रहेको छ । यस्तै, बदाम प्रतिकिलो १७ सय रुपैयाँ, पेस्ता प्रतिकिलो २ हजार रुपैयाँ, किसमिस प्रतिकिलो ६सय रुपैयाँ, नरिवल प्रतिकिलो ६ सय रुपैयाँ, खुर्पानी प्रतिकिलो ९ सय रुपैयाँ, ल्वाङ प्रतिकिलो २ हजार रुपैयाँ, सुकमेल प्रतिकिलो ४ हजार रुपैया रहेको छ । 

यस्तै काँचो बदाम २ सय ३० रुपैयाँ, मिश्री प्रतिकिलो १ सय ८० रुपैयाँ मूल्य रहेका छन् । थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य सामान्य बढ्न गएको व्यापारीको भनाइ छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । 
 

प्रतिक्रिया