वीरगञ्ज नाका बाट आयात–निर्यात घट्यो

वीरगञ्ज । वीरगञ्ज नाका बाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा  एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएको थियो । 

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ । 

चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज बाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए । 
रासस 

प्रतिक्रिया