अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघि सम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक ३ सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविर सम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गए पछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको छ । तीन वर्ष अघि सम्म करिब सुनसान जस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयका हाराहारीमा पर्यटक पुग्ने गरेका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

“अन्नपूर्ण आधार शिविर पदमार्गमा खचाखच पर्यटक देखेर नारच्याङवासी समेत दङ्ग छन् । पर्यटकको चहलपहल बढेको छ । त्यहाँ बनाइएका संरचनामा बस्ने ठाउँ पनि हुँदैन । टेन्ट सहित पुगेकालाई सहज हुन्छ, अरुले कष्ट सहेरै भए पनि पदयात्रा पूरा गर्नुपर्ने बाध्यता छ”, उनले भने । खान र बस्ने होटल सहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

“म्याग्दीको पहिलो गन्तव्य भनेकै अन्नपूर्ण बेसक्याम्प हुन्छ । अब स्वदेशी पर्यटक हिमालको काखमा गएर रमाउनेलाई यो नेपालकै एक उत्कृष्ट गन्तव्य हो”, केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका बेनीका छवि आचार्यले बताए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड ताल सहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ । अन्नपूर्ण–३ नारच्याङको हुमखोला बाट शुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रा पछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनी बाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो । गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको सङ्ख्या छ गुणा बढेको छ । पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधा सम्पन्न होटल, लज, सञ्चारको सुविधा र बीच बाटोमा टीहाउस लगायत पूर्वाधार बनाउन बजेट सहितको तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

बेनी बाट दुई दिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवर्द्धनमा ध्यान दिएमा एकै वर्ष हजारौँ पर्यटक पुग्ने धवलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्र सम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोला सम्म सवारीसाधनमा पुगेर त्यहाँ बाट पैदल मार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधार शिविर सम्म पुग्न सकिन्छ ।
रासस 
 

प्रतिक्रिया