सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । 

कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गए पछि सङ्कटमा पर्न थालेको हो । 

चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गए पछि पेसा नै सङ्कटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताए । चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्ष भन्दा कमी आएको उनको भनाइ छ ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायत स्थानमा रहेका कुम्भकार (कुमाल) समुदाय चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको छ । माटोका भाँडा बनाए जति बिक्री नहुने गरेको स्थानीय दरपी पण्डितको भनाइ छ ।

कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलश सहितका भाँडाकुँडा बनाउने गरेका छन् । आधुनिकताको विकास सँगै अहिले बजारमा विद्युतीय दियो, झिलीमिली बत्ती लगायत उपकरण आउन थाले पछि चिन्ता थपिएको पण्डितको भनाइ छ ।

भाँडा बनाउन काँचो माटो प्रयोग हुने गरेकाले दुई हप्ता अगाडि देखि नै माटोको जाहो गर्ने गरिएको छ । माटो बाट निर्माण गरेको सामग्री सोचे अनुसारको बिक्री नहुनु र आम्दानी समेत नहुने गरेकाले वैकल्पिक पेसा रोज्न थालेको पण्डित बताउछन् । 

“विगतका वर्षमा माटोका भाँडा बाट राम्रै आम्दनी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी आएको र प्रयोगमा समेत कमी आएको छ”, उनले भने । नजिकमा माटो नपाइने र टाढा बाट प्रतिट्र्याक्टर माटो  १० हजार देखि  २० हजार सम्ममा खरिद गरी बनाएको भाँडा समेत बिक्री नहुँदा समस्या हुने गरेको पण्डितको भनाइ छ ।

कुमाल समुदायले विगतमा माटोका भाँडा बिक्री गरी परिवारको खर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिँदै आएका थिए । अहिले घर खर्च समेत चलाउन समस्या हुन थालेको पण्डितले बताए । वृद्धवृद्धाले पुख्र्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघर देखि शहर सम्म बिक्री गर्दै आएका छन् । तर, युवा पुस्ताले भने वैकल्पिक बाटो रोज्न थालेका छन् ।

विगतमा पर्वका बेला एक परिवारले पाँच लाख सम्मका माटोको दियो बनाएर बिक्री गर्ने गरेका थिए । अहिले एक लाख दियो बिक्री गर्न पनि एक हप्ता लाग्ने गरेको स्थानीय बेचनी पण्डितले बताए । अहिले वर्षभरिमा एक परिवारले माटोको भाँडाबाट  एक लाख सम्म आम्दनी गर्ने गरेको उनले बताए । 

अधिकांश व्यक्तिको रोजीरोटी माटो सँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्य गर्ने गरेका छन् । मेहनत गरे अनुसारको प्रतिफल नपाउँदा निरास समेत हुने गरेको कुम्भकार समुदायका ज्ञानदेव पण्डितले बताए । सङ्घीय, प्रदेश र स्थानीय सरकार भए पनि आफूहरूको पुख्र्यौली पेसा संरक्षणका लागि कसैले ध्यान नदिएको उनको भनाइ छ । 
रासस

प्रतिक्रिया