इङ्ग्ल्यान्डलाई हराउँदै घरेलु टोली पाकिस्तानले तीन खेलको टेस्ट सिरिज जित्यो

काठमाडौं । तेस्रो तथा निर्णायक टेस्टमा इङ्ग्ल्यान्डलाई हराउँदै घरेलु टोली पाकिस्तानले तीन खेलको टेस्ट सिरिज २–१ ले जितेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा शनिवार सकिएको तेस्रो टेस्टमा पाकिस्तानले इङल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । तेस्रो दिन नै सकिएको टेस्टमा ३६ रनको लक्ष्य पाकिस्तानले मात्र १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि कप्तान शान मक्सुदले ६ बलमा २३ तथा अब्दुल्लाह सफिकले अविजित ५ रन बनाए ।

पहिलो इनिङमा ७७ रनले पछि परेको इङ्ग्ल्यान्ड दोस्रो इनिङमा १ सय १२ रनमा अलआउट भएको थियो । दोस्रो इनिङमा इङ्ग्ल्यान्डले ३५ रनको अग्रता लिएपछि पाकिस्तानले ३६ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङमा जो रुटले सर्वाधिक ३३, ह्यारी ब्रुकले २६ तथा बेन डुकेटले १२ रन जोडे । पाकिस्तानका लागि नुमान अलिले १८.२ ओभरमा ४२ रन खर्चिएर ६ विकेट लिए । साजिद खानको नाममा ४ विकेट रह्यो । त्यसअघि पहिलो दिन टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्ड २ सय ६९ रन बनाउँदै अल आउट भयो ।

जेमी स्मिथले सर्वाधिक ८९, ओपनर बेन डुकेटले ५२, गस एटकिन्सनले ३९ तथा ज्याक कर्लिले २९ रन जोडे । पाकिस्तानका लागि साजिदले ६ , नोमान अलिले ३ तथा जाहिद मोहम्मदले १ विकेट लिए । पहिलो इनिङमा पाकिस्तान ३ सय ४४ रन जोड्दै अल आउट भयो । पाकिस्तानका लागि साउद सकिलले १ सय ३४ रनको शतकीय पारी खेले । पहिलो टेस्ट इनिङ ४७ रनले गुमाएको पाकिस्तानले दोस्रो खेल १ सय ५२ रनले जितेको थियो ।

प्रतिक्रिया