भारतमा पहिरोमा बेपत्ता भएका नेपालीहरुको अवस्था अझै अज्ञात, खोजी तथा उद्दार गर्न परराष्ट्र मन्त्रीद्वारा उत्तराखण्डका मुख्यमन्त्रीलाई आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् ।

रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता छन् । मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री साउदले दिल्लीस्थित नेपाली राजदूताबासलाई पनि भारत सरकारसँग समन्वय गरेर रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

वर्षा जारी रहेकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या भइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया