मुकुन्दराज शर्माको “धोबीघाट मेलोडी” सार्वजनिक

काठमाडौं । गीतकार तथा साहित्यकार मुकुन्दराज शर्माद्वारा लिखित निबन्ध संग्रह “धोबीघाट मेलोडी” सार्वजनिक गरिएको छ । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन,पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ, पूर्व मन्त्री शंकर कोइराला,वरिष्ठ कलाकार हरिहर शर्मा लगायत बिभिन्न साहित्यकारहरुले सो निबन्ध संग्रह सामूहिक रुपमा बिमोचन गरेका हुन् । 

यस अघि “शब्द शिबिर” निबन्ध संग्रह लिएर आएका शर्माको धोवीघाट मेलोडी दोस्रो निबन्ध संग्रह हो । ललितपुर महानगरमा मेयर महर्जनले शर्माको कृतिले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा महत्वपूर्ण योदान पुरयाएको बिचार ब्यक्त गरे । त्यसैगरी वरिष्ठ कलाकार हरिहर शर्माले पनि धोवीघाट मेलोडीले नेपालको साहित्यिक क्षेत्रको बिकासमा अर्काे इँटा थपेको बताए । कांग्रेस नेता उमेश श्रेष्ठले नेपाली साहित्यको बिकासका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिदैं धोबीघाट मेलोडी नेपाली साहित्यिक क्षेत्रमा लागि महत्वपूर्ण कृति भएको बताए । 

कार्यक्रममा श्रीओम श्रेष्ठ “रोदन” बिष्णु बिभु घिमरे लगायतका साहित्यिक व्यक्तित्वहरुले शर्माको निबन्ध संग्रहमाथि आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले नेपाली साहित्यको क्षेत्रमा धोवीघाट मेलोडी  नेपाली निबन्ध फाँटको एउटा उत्कृष्ट सिर्जना भएको भन्दै निबन्धमा नयाँ प्रयोग गरिएको “क्षणिकी”ले नेपाली भाषा साहित्यमा मौलिकता थपेको बताएका थिए ।

धोबीघाट मेलोडी भित्र २४ वटा निबन्धहरु रहेका छन् । लेखक शर्मा प्रसिद्ध गीतकारका रुपमा पनि परिचित छन् । उनले रचना गरेका  ‘बनमाराले वनै खायो, पीरैपीरले जिउ खायो’! ‘हिउँचुलीमा हिउँ बग्यो, थाकखोलामा पानी’ ! लगायत कालजयी गीतहरु चर्चित छन् । शर्मा शिक्षा विद्का रुपमा पनि परिचित छन्।

विगत ३४ वर्षदेखि लिटिल एन्जेल्स स्कुलमा आवद्ध  शर्माले १४ वर्षदेखि प्राचार्यको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । कार्यक्रममा निबन्धका लेखक शर्माले आफ्नो जन्मथलो प्यूठानको संझना गर्दै अहिले आफ्नो बसोबास रहेको ललितपुरको धोवीघाटको एउटा ढुंगेधाराको सेरोफेरो नियाल्ने क्रममा यो कृति जन्मिएको बताए । उनले आफ्नो कृति स्वर्गीय पिताप्रति समर्पित गरेर लेखेको पनि बताए । 

प्रतिक्रिया