भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोमा हराइरहेका तीन नेपालीको शव फेला, १३ नेपाली अझै बेपत्ता, भारी वर्षा भइरहेकाले उद्दारमा कठिनाइ

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा १३ जना नेपाली र ६ जना भारतीय नागरिक बेपत्ता भएका हुन् ।

बेपत्ता भएकामध्ये ३ नेपालीको शव भेटिएको जनाइएको छ । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको हो । पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन् ।

जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । पातारासी–३ का २८ वर्षीय अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएका छन ।

त्यस्तै, पातारासी–२ का २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि बेपत्ता भएका छन् । हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाइएको छ ।

वर्षा जारी रहेकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या भइरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया