भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा काम गरिरहेका बेला सरकार ढालियो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार सुशासनका विरुद्ध र भ्रष्टाचारीहरू बचाउन बनेको आरोप लगाएका छन् ।

शनिवार माओवादीले सरकारविरुद्ध काठमाडौंमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको आरोप लगाएका हुन् ।

यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बनेको बताउँदै प्रचण्डले दलाल र बिचौलियाको घरमा रातको १२ बजे बनेको सरकारले सय दिनमा आफैँले पुष्टि गरेको बताए ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताए ।

‘कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको स्वीकार गर्दै उनले भने, ‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो ।

प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै अब आफू नआउने उनको भनाइ छ ।

माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने उल्लेख गर्दै जति सिट ल्याए पनि एक्लै लड्ने उनले बताए ।

प्रतिक्रिया