धुलिखेलद्वारा क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माण गर्न माग
काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख अशोक ब्यान्जुले बताए । उनका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका–३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् । उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा रु दुई करोड चार लाख क्षति भएको जनाइएको छ ।
बाढीपहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो । उक्त घटनामा दुईजनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन् । नगरपालिकाको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । यस्तै, सिँचाइ आयोजनामा रु ५० लाख, आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडकमा क्षति पुगेको छ भने रु १८ लाख बराबरको पशुधन क्षति भएको थियो । नगरपालिकाले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
प्रतिक्रिया