डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्ला स्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रम मार्फत किबीखेती विस्तार गर्न थालेको छ । 

दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रम मार्फत किबीखेती विस्तार थालिएको हो ।

किबीका बोट बाट २५ वर्ष भन्दा लामो समय सम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यस तर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए । 

दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए । तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती शुरु गरेको बताउँदै उनले अहिले खेती विस्तार गरी ४० बोट पुर्‍याएको जानकारी दिए । 

शुरुका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यस पछि उत्पदान दिन शुरु भएको बताए । हाल किबी बिक्री बाट सबै खर्च कटाएर वार्षिक दुई लाख भन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए ।  

शुरुमा लगाएका प्रतिबोटमा वार्षिक ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताए । “जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो । बिक्री गर्नु पहिले एक÷दुई दाना चखाए पछि मात्र खरिद गथ्र्ये”, यनले भने, “अहिले भने माग बाहिरी जिल्ला बाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन ।” 

किबीखेती गर्दा काँट छाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गरे । काँटछाँट सम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यस सम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उनको बुझाइ छ । आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उनले जानकारी दिए । 

जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सय बढी बोट लगाएर किबीखेती गरेका छन् । सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा  भिडियो हेरेर किबीखेती प्रति आकर्षित भएको बताउँदै उनले ६५ बोट बाट खेती शुरु गरेको जानकारी दिए । 

तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाए । यस वर्ष देखि किबी बिक्री हुने उनले बताए । उनले भने, “बारीमा चार क्विन्टल किबी छ, बिक्रीका लागि धनगढी स्थित भाटभटेनी सँग समन्वय भएको छ । यहाँ बाट पनि १०÷१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु ।”

अर्को वर्ष देखि ५०–६० क्विन्टल किबी फल्ने भट्टले बताए । उनले किबीखेती गरिएको क्षेत्र भित्र विभिन्न किसिमका तरकारी पनि फलाएका छन् ।  मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा एक हजार भन्दा बढी किबीका बोट रहेका भन्दै चार वटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिए । 

जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले उल्लेख गर्नुभयो । केन्द्रले किसानलाई बिरुवा काँटछाँट सम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयन लगायत सहयोग गरिरहेको छ ।
रासस 

प्रतिक्रिया