रेशम–रञ्जिताको ७ महिनापछि मिलन, समझदारीमा बस्न लागेको बैठक स्थगन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यको संयुक्त बैठक तिहारपछि बोलाउने तय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीको मिलन भएपछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो ।

श्रीमान–श्रीमती समेत रहेका रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेर सूचना जारी गर्दै असोज १८ र १९ गते काठमाडौंमा संयुक्त बैठक बोलाएको थियो । तर, बाढीले काठमाडौं सहित देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्‍याएको र तिहार पनि नजिकै भएकाले बैठक स्थगन गरिएको नाउपाले जानकारी दिएको छ ।

रेशम र रञ्जिताबीच नेतृत्वको विषयमा नाउपाभित्रको शक्ति संघर्ष चुलिएको थियो । जसका कारण नाउपाको नियमित बैठक नै बस्न सकेको थिएन । हाल रेशम र रञ्जिताको मिलाप भएको नेताहरू बताउँछन् ।

झण्डै ७ महिनाअघिदेखिको रेशम–रञ्जिता विवाद सहमतिमा अवतरण भएको छ । त्यसकै सन्देश दिन दुवैले संयुक्त बैठक बोलाएका थिए । रेशम रञ्जिताको मिलापको अर्को दिन नै नाउपाका २७ नेताले पार्टी छोडेका थिए ।

बैठक बोलाउनुअघि रेशम र रञ्जिताबीच पार्टीमा दुवै पक्षको समान सहभागितासहित बैठकको अध्यक्षता दुवैले गर्ने समझदारी छ ।

प्रतिक्रिया