अविरल वर्षा बाट पुष्पखेतीमा १५ करोड नोक्सान

काठमाडौं ।  गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुर्‍याएको छ । यस बाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।  

फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भए पछि तिहारमा भारत बाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए । 

गत वर्ष ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए । अविरल वर्षाको कारण करिब १५ करोडको फूल नोक्सान भएको थियो ।  

अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको  माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा प्रयोग हुने गरेको छ  । 

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारत बाट आयात गर्न लागिएको हो ।  

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशत सम्म वृद्धि हुने तर, उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारत बाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन । 

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तार सँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धि सँगै काठमाडौं उपत्यकाको तीन जिल्ला सहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।  

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसाय बाट ४४ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् । 
रासस 

प्रतिक्रिया