दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

महोत्तरी । दीपावली र छठ पर्व अघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर  रङरोगन गन चलन बसेको गृहिणी बताउँछन् ।

“यो (दीपावली) पवनी (पर्व) सबैतिर उज्यालो छर्ने मानिन्छ, त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौं”, बर्दिबास–२ बारनचौडीकी सङ्गीता सहनी मलाह भन्छिन्, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनुमात्र नभई रमाइलो पनि हो ।” पर्व अघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको सङ्गीता सहितका मैथिल गृहिणीको भनाइ छ ।

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिला बीच आपसी सल्लाह हुन्छ । ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन् । यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने गृहिणी बीचको छलफल र सँग सँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रुपमा ग्रामीण महिला सम्झन्छन् ।   

केही दशक पहिले सम्म दशैँ, दीपावली र छठपर्व अघि घर लिपपोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको बर्दिबास–९ पशुपतिनगरकी ५० वर्षीया शैल महतोको सम्झना अझै ताजै छ । तर, पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि अब घर लिपपोत र रङरोगनमा बजारु रङको भर पर्नु परेको महतोको भनाइ छ । महतो जस्तै भङ्गाहा–४ रामनगरकी सुशीला सदा पनि अब नदी डिलमा पहेँलो, कमेरे र कालो माटो पाइन छाडेको बताइन्छ ।  

दशैं अघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावली अघि गर्दैछन् । महोत्तरीका १५ वटै स्थानीयतहका बस्तीमा  अहिले घर सिँगारिने क्रम देखिँदो छ । घर सिँगार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँ ठाउँमा देखिन्छन् । तर, धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् ।

घर लिपपोत र शृङ्गारको काम जताततै चले पछि अहिले चुन (सेतो रङका लागि) र विभिन्न रङका पोकाको खरिदबिक्री निकै बढेको छ । दशैं देखि दीपावली सम्म घर लिपपोत र शृङ्गारको काम सकिए पछि बस्ती बस्ती उजेलिने (उज्यालो देखिने, चहकिने) गरेका छन् । दीपावली अघि लिपपोत र रङरोगन गरिएको घर छठमा सामान्य सरसफाइ गर्दा हुने मानिन्छ ।
रासस 

प्रतिक्रिया