इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु गर्ने अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भनाई

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रोकिएको इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने बताएका छन् । 

मध्यपूर्वमा भइरहेको द्वन्द्वमा युद्धविराम बारे छलफल गर्न लण्डन पुगेका  ब्लिन्केनले मध्यस्थकर्ताहरूले केही दिनमै गाजामा युद्धविरामका लागि रोकिएका वार्ताहरू पुनः शुरु गर्ने प्रयास गरिरहेको बताएका हुन् ।  तर, वार्तामा हमासले भाग लिने वा नलिने भन्ने कुरा अझै स्पष्ट छैन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासका एक जना नेताले यदि इजरायलले शर्तमा सहमति जनायो भने यो युद्ध रोक्न तयार रहेको बताएका छन् । अमेरिकी आग्रह पछि इजरायली गुप्तचर संस्था मोसादका प्रमुख डेभिड बार्निया कतारको दोहा पुगेका छन् । तर, इजरायलले हमासका दुई वटै मुख्य कमाण्डरको हत्या गरेकाले वार्ता कसरी अघि बढ्छ भन्ने टुङ्गो छैन ।

नेताहरुको हत्या पछि कमजोर अवस्थामा पुगेको हमासले अब वार्ता नै चाहेको विश्लेषकहरुले बताउन थालेका छन् । अमेरिकाले यस अघि पटक पटक इजरायललाई युद्धविरामको दबाब दिए पनि इजरायलले टेरेको छैन । 

अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वमा अझै पनि आफ्नो प्रभुत्व रहेको देखाउन चाहेको कतिपयको बुझाई छ । अर्कोतिर यदि अमेरिका मध्यपूर्वमा असफल भएमा चीन वा रुसले यो क्षेत्रमा प्रभुत्व जमाउन सक्ने डरले पनि अमेरिका अब युद्ध रोक्ने दबाबमा पुगेको माचारमा उल्लेख छ ।  
 

प्रतिक्रिया