दाङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । दाङमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

राप्ती लोकमार्ग अन्तर्गत शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालक सहित २ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका-४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका-६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी दुर्घटनामा सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वली घाइते भएका छन् । घाइते भएकाहरुको  तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रतिक्रिया