आसोजमा ९ हजार पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा ८ हजार ९ सय २ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । 

जस बाट निकुञ्जले २ करोड ३ लाख ४८ हजार ५ सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रति पर्यटक नेपाली १ सय, सार्क मुलुक १ हजार ५ सय र अन्य मुलुक ३ हजार प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा १ सय २५ तथा भदौमा १ हजार ३ सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा ३ लाख ४५ हजार ९ सय ७५ र भदौमा ३२ लाख ३६ हजार ६सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताए ।

“यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथा सहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढे पछि उनीहरू सँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भने । 

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौं र रामेछापको मन्थली बाट जहाज तथा हेलिकप्टर मार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमाडौं बाट सडकमार्ग मार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गते सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यस बाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । 

सिजनमा दैनिक १ हजार जना भन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । 

पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा समेत छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । 

सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज १ हजार ८ सय मिटर देखि ८ हजार ८ सय ४८ मिटर सम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।
रासस 

प्रतिक्रिया