कांग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि थियो : उपसभापति खड्का

महोत्तरी । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थापनाकालदेखि कांग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि भएको बताएका छन् ।

आज नेपाली कांग्रेस महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले समयकालमा सङ्घर्षका स्वरुप फरक भए पनि सबैको निचोड समुन्नत लोकतन्त्र भएको स्पष्ट पारेका हुन् ।

“नेपाली कांग्रेसको जन्म नै जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको इतिहास छ”, उनले भने, “कांग्रेसले झण्डै आठ दशक जनताका प्रजातान्त्रिक अधिकार र तिनको संस्थागत विकासमा खर्चेको छ ।”

पछिल्लो दशकमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको संस्थागत विकासका लागि आफ्नो दलले सम्पूर्ण ध्येय केन्द्रित गरेको उनको भनाइ छ ।

दुई दिने प्रशिक्षणमा जिल्ला कार्य समिति र स्थानीय तहमा रहेका समितिका पदाधिकारी तथा सदस्य सहभागी छन् । प्रशिक्षण कार्यक्रममा डा कृष्णप्रसाद पौडेल, डा सुरेश आचार्य, नेत्री नानु बास्तोला र डा अच्युत वाग्ले  प्रशिक्षकको रुपमा रहेको कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए ।

प्रतिक्रिया