कपिलवस्तुमा माओवादी नेताको हत्याः चन्दाको विषयमा विवाद,घाँटीमा चक्कु प्रहार,खाल्डोमुनी शव

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका–२ खडैचा भैसीघाटमा ४ कात्तिकमा एक जना पुरुषको शव फेला परेको थियो ।

उक्त शव कपिलवस्तु नगरपालिका १० तेनुवाका ४५ वर्षीय दिनेश भन्ने जय प्रकाश यादवको भएको खुलेको छ । प्रहरीले खानतलासी गर्दा उनि नेकपा (माओवादी) महावीर समूहका कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको खुलेको हो ।

तत्काल पहिचान हुन नसकेको उक्त शव माओवादीका यादवको भएको र हत्यामा उनकै पार्टीका नेताहरु संलग्न रहेको प्रहरीको निष्कर्ष छ । हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिका २ तिनैयाकी ४६ वर्षीय मनकला थारु र ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ५ सेरनाका ४७ वर्षीय रमेश श्रेष्ठ प्रकाश यादवको हत्या आरोपमा पक्राउ परेका छन् । 

आरोपि श्रेष्ठ उक्त पार्टीको कपिलवस्तु जिल्ला सेक्रेटरी हुन् भने मनकला पार्टीको कपिलवस्तु महिला विभाग प्रमुख हुन् ।

श्रेष्ठ घटनाको मुख्य योजनाकार रहेको र उनले नै यादवको घाँटीमा दाउ तथा चक्कु प्रहार र सिमेन्टको पोलले प्रहार गरी हत्या गरेर शव बालुवामा खाल्डो खनेर पुरेको प्रहरीले जनाएको छ ।

चिरई खोलाको किनारामा कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

घटनाको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट डीएसपी मोहनमणी अधिकारी र इप्रका गणेशपुरबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्द लगायत सोकोसहित अनुसन्धान टोली खटिएको थियो ।

शव उत्खनन् गरेर प्रहरीले सुरुमा मृतकको पहिचान गर्ने प्रयास थालेको थियो । पछि शवको सनाखत भएसँगै अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

अनुसन्धानका क्रममा मृतक र घटनामा संलग्न व्यक्तिहरू महावीर महासचिव रहेको नेकपा (माओवादी) महावीर समूहमा आबद्ध रहेर केन्द्रीय निर्देशन अनुसार कपिलवस्तु जिल्लामा अवैध चन्दा असुली गर्ने गरेको खुलेको छ । 

कपिलवस्तु जिल्ला सेक्रेटरी श्रेष्ठले समुहको नेतृत्व गरी अन्य व्यक्तिहरुलाई समेत परिचालित गर्ने र विभिन्न व्यक्तिहरूलाई धाक धम्की दिई अवैध चन्दा असुली गर्ने कार्य गर्दै आएको खुलेको छ । 

जिल्लालाई १० वटा ईलाकाहरुमा विभाजन गरी सो मध्यको १० नम्बर ईलाकाको रुपमा छुट्याईएको विजयनगर गाउपालिका क्षेत्रको ईलाका इन्चार्जको रुपमा मृतक दिनेश भन्ने जयप्रकाश यादवलाई जिम्मेवारी तोकिएको थियो ।

उनले सो क्षेत्रबाट संकलन गरेको चन्दा रकम हिनामिना गरी पर्टिलाई हिसाव किताव बुझाउन इन्कार गरेको आरोपीहरूले बताएका छन् ।

हत्यापछि नजिकैको खोलामा लगी शव बालुवाले पुरेर आरोपि घटनास्थलबाट फरार भएका थिए । घटनाको एकसातापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरू भने हाल फरार रहेका छन् ।

प्रतिक्रिया