इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी । दक्षिणी गाजा पट्टीको खान युनूसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा अधिकाशं महिला तथा बालबालिका सहित २८ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली कब्जामा रहेको सेनाले खान युनूसको अल–मनारा क्षेत्रलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँ घाइते भएको समेत जनाइएको छ । 

बिहिबार राति, इजरायली सेनाले उत्तरी गाजाको जबालिया शरणार्थी शिविरको आवासीय परिसरमा हवाई आक्रमण गर्दा महिला र बालबालिका सहित कयाँै सर्वसाधारणको मृत्यु हुनुका साथै कयाँै घाइते भएको जनाइएको छ ।  

सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म कम्तिमा  ४२ हजार ८ सय ४७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै एक लाख ५ सय ४४  भन्दा बढी घाइते भएका छन् भने हजारौँ पीडितहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल युद्धविरामको आह्वान गर्दै अन्तर्राष्ट्रिय अदालतको निर्देशनअनुसार गाजामा नरसंहार रोक्न आग्रह गरे तापनि इजरायलको नरसंहार आक्रमणहरू निरन्तर जारी छन् ।

प्रतिक्रिया