नेकपा माओवादी केन्द्रले भोलि राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयलाई लिएर भोलि राजधानी काठमाडौंमा विरोध प्रदर्शनको घोषणा गरेको छ । विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ ।

खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौंमहल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने छन् ।

अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ ।

यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने बताइएको छ । जनपरिचालनको उद्देश्य सहकारी ठगी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, विपद्मा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनःनिर्माण र पुनःस्थापना कार्यान्वयन गराउन दबाब दिन लागिएको माओवादीले जनाएको छ ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा जनदबाब सृष्टि गर्न आफूहरुले प्रदर्शन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । 

प्रतिक्रिया