कुलमानले सबै उद्योगको लाइन काट्छन्, के गर्ने होला प्रधानमन्त्री ज्यू ?

काठमाडौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दिपक खड्काले बक्यौता नतिर्ने उद्योगीको लाइन काट्न तयारी गरेको जानकारी गराएका थिए । बैठकमा जानुअघि पनि मन्त्री खड्काले कुलमानसँग समेत छलफल गरेका थिए ।

मन्त्रिपरिषद् बैठकको अन्तिममा मन्त्री खड्काले प्रधानमन्त्री केपी ओलीलाई बिहानको सञ्चालक समिति बैठक र कुलमानसँगको छुट्टै छलफलबारे बताए । 

‘मन्त्रिपरिषद्बाट लिखित निर्देशन नदिए कुलमानले भोलिसम्ममा सबै उद्योगको लाइन काट्छन्, जे गर्ने हो मन्त्रिपरिषद्बाटै गर्नुपर्‍यो,’ खड्काले ओलीलाई भनेका थिए ।

तर, ओली त्यसमा धेरै बोलेनन । बरु पछि सल्लाह गरौँला भन्दै बैठकबाट बाहिरिएको एक मन्त्रीले बताए । ‘ऊर्जामन्त्रीले लगभग बैठक सकिने वेला यो कुरा उठाउनुभएको थियो । आज उद्योगीलाई दिएको अन्तिम म्याद हो, कुनै निर्णय नभए कुलमानले लाइन काट्छन्, के गर्ने भनेर सोध्नुभएको थियो,’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्री पछि सल्लाह गरौँला भनेर हिँड्नुभयो ।’

बिहीबार बिहानको बसेको प्राधिकरण सञ्चालक समितिको बैठक विनानिष्कर्ष टुंगियो । त्यसपछि प्राधिकरणले उद्योगीहरूसँग छुट्टै छलफल गर्‍यो । किस्तालाई अझ सहज बनाउने र बिहीबार नै एउटा किस्ता तिरेपछि लाइन नकाट्ने प्राधिकरणको प्रस्ताव थियो ।

तर, केही उद्योगी बोलेनन्, केही उद्योगीले लाल आयोगको प्रतिवेदनअनुसार मात्रै तिर्ने अडान दोहोर्‍याए । एक–दुई उद्योगीले भने रातिसम्म सल्लाह गरेर मात्रै निर्णय दिने बताए । मन्त्रिपरिषद् बैठकबाट आफ्नो पक्षमा निर्णय आउन सक्ने अपेक्षा उद्योगीहरूको थियो ।

तर, मन्त्रिपरिषद्ले पनि यस विषयमा कुनै निर्णय गर्न सकेन । यहीबिच पाँच उद्योगले किस्ताबापतको रकम तिरे । रिलायन्स स्पिनिङ मिल्सले १२ कात्तिकसम्म लाइन नकाट्न बिहीबार नै विराटनगर उच्च अदालतबाट अन्तरिम आदेश ल्याएकाले त्यसको पनि लाइन काटिएन । बाँकी ४३ उद्योगको राति ८ः३० बजेदेखि प्राधिकरणले लाइन काट्न सुरु गर्‍यो । त्यसपछि मध्यरातिसम्म बक्यौता नतिर्ने सबै उद्योगको लाइन प्राधिकरणले काटिसकेको छ  ।

प्रतिक्रिया