खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो

सङ्खुवासभा । जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ ।

भौगोलिक रुपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किलोमिटर मध्ये आठ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथाङ्का–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबै भन्दा छोटो सडकका रुपमा मानिन्छ ।

ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुल्ले सँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथाङ्का जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिए । 

उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किलोमिटर खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।

हाल सम्म नेपाली सेनाले आठ किलोमिटर सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ किलोमिटर खण्ड स्तरोन्नति समेत गरिसकेको जानकारी दिए । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ ।  

सो सडक बाट कोशी प्रदेश सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङ सम्म ट्र्याक खुले पनि खाँदबारी बाट वरुण दोभान सम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ । 

सडक विस्तार सँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । 

राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हाल सम्म ५३ करोड खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । नेपाली सेनाले हेलिकप्टर मार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो । 
रासस 

प्रतिक्रिया