हनिमुन डेजमा सरकारले राम्रो काम गर्‍यो, ओलीबाट असन्तुष्टि छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको देउवाले बताएका हुन् ।

सभापति देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको जिकिर गरे ।

विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताउँदै उनले राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए ।

‘मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु।सय दिनलाई हनिमुन डेज भन्छन् नि। राम्रो काम गरेको छ। राम्रो काम गरिरहेको छ, के भएको छ त? गति पनि लिएको छ। बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ। हेलिकप्टरबाट पनि उद्धार गरेको हो,’ उनले भने ।

साथै, उनले वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए ।

प्रतिक्रिया