बाढी, पहिरो र डुबानले  ४५ अर्ब रुपैयाँको क्षति

काठमाडौं । असोज दोस्रो साताको बाढी, पहिरो र डुबानले पौने ४६ अर्ब रुपैयाँ बराबरको क्षति गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत असोज १० देखि १२ गते सम्म आएको बाढी, पहिरो र डुबानले गरेको क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदन तयार पारेको हो ।  प्रारम्भिक अध्ययनले तीन दिनको भारी वर्षाले ४५ अर्ब ८२ करोड ९७ लाख ७१ हजार ५० रुपैयाँको आर्थिक क्षति गरेको देखाएको प्राधिकरणले जनाएको छ । 

भौतिक पूर्वाधारमा मात्रै ३८ अर्ब २२ करोड १७ लाख रुपैयाँ बराबरको क्षति  भएको छ । भौतिक पूर्वाधार अन्तर्गत सडक तथा राजमार्ग, जलविद्युत, दूरसञ्चार, खानेपानी  र पुलमा सो क्षति भएको हो । ४१ वटा सडक खण्डमा क्षति हुँदा ती सडकको पूर्ण मर्मत सम्हार गर्न २५ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ । जसमध्ये २ अर्ब ५० करोड रुपैयाँ तत्काल मर्मतका लागि आवश्यक पर्ने प्रतिवेदनले औल्याएको छ । 

बाढी तथा पहिरोले ४४ वटा पुलमा क्षति पु¥याएको छ, जसका कारण १ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । देशभरका २६ वटा जलविद्युत आयोजनामा असर गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । बाढी र पहिरोले ती जलविद्युत आयोजनामा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति  भएको छ । 

खानेपानी तथा सरसफाइका क्षेत्रमा बाढी तथा पहिरोले ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । ६५ हजार ८४ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ भने २६ हजार २०५ पशुपंक्षी प्रभावित भएका छन् । 

बाढी तथा पहिरोले देशभर ५ हजार ९ सय १६ घरमा पूर्ण क्षति गरेको छ । १२ हजार ४ सय ७७ घरमा आंशिक क्षति पुगेको छ । साथै १० हजार ८ सय ७ परिवारहरूलाई विस्थापित भएका छन् । तीन दिनको वर्षा पछि आएको बाढी र पहिरोका घटनामा परी २ सय ४६ जनाको मृत्यु, १८ जना बेपत्ता र १ सय ७८ जना घाइते भएका छन् ।

हालसम्म १८ जना अझै बेपत्ता रहेका छन् ।

प्रतिक्रिया