नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

सिरहा । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिए सँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसे देखि साँझ झमक्क हुँदा सम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको ।

“कात्तिक लाग्ने बित्तिकै  बिहान देखि बेलुका सम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ”, नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, “यो उल्लासको समय होे । जीवनका हरेक दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्यो ।”

बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए । छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ । उमेरले ४५ वर्ष टेकेका उनी यही पेसामा रमाइरहेका छन् । उनले भने, “बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनु भन्दा परिवार सँगै बसेर काम गर्दाको मज्जा अर्कै हुन्छ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काम गरेको पनि महसुुस नभई नाङ्लो तयार हुन्छ ।” 

सोही ठाउँका सियादेवी सदायको पनि दिनचर्या उस्तै छ । “बाहिर अन्य काम नपाउँदा नाङ्ला बेचेर घरको जोहो टारेका छन् । वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लाको व्यापार गरेर केही महिनालाई गुजारा गर्न पुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन”, सियादेवीले भने । 
 
एउटा बाँस बाट सात वटा सम्म नाङ्लो तयार गर्न सकिने सियादेवीले बताए । नाङ्लो बनाउने बाँस सप्तरीको सिसवार बाट प्रतिघना  दुई सय ५० का दरले ल्याउनुपर्ने र नाङ्लो बाँध्न बेत पनि बाहिर बाट नै ल्याउनु परेकाले नाङ्लाको मूल्य बढी पर्न गएको पनि उनले जानकारी दिए ।  

आफ्नो सीप र कलाको प्रयोग गरेर आकर्षक सामग्री बनाउने यहाँका सदय परिवारको यस परम्परागत पेसाको प्रवर्द्धनका लागि अहिले सम्म कसैले पनि कुनै प्रकारको सहयोग नगरेको गुनासो छ । लहानको गुदीगाँउ, भदैया, खेस्राहा लगायत ठाउँमा नाङ्लो बनाएर बेच्ने व्यवसाय उल्लेख्य मात्रामा छ । अन्य समयमा एउटा नाङ्लो  दुई सय २० मा बिक्री हुने नाङ्लो चाडपर्वमा  चार ससम्म घरैमा आएर व्यापारीले लैजाने गरेका छोटकनले बताए । 

छठपर्वमा पूजाका सामग्री राख्न बाँसको सामग्रीमा राखेर पूजा गर्दा शुद्ध हुने मान्यता भएको हुँदा छठपर्वमा यसको माग बढी भएको स्थानीय बताउँछन् । अन्य समयमा बजारमा लगेर सस्तो दाममा बेच्नुपर्ने तर छठपवका बेला व्यापारी टोलमा नै आएर किनेर लग्ने गरेका छन् ।
रासस 

प्रतिक्रिया