पुटिन द्वारा ब्रिक्सका सदस्य राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्रको वृद्धि गर्न छुट्टै मञ्च बनाउने बारे प्रस्ताव

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सका सदस्य राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्रको वृद्धि गर्न छुट्टै मञ्च बनाउने बारे छलफल गर्न प्रस्ताव गरेका छन् । 

ब्रिक्सका सदस्य राष्ट्रहरूको बढ्दो अर्थतन्त्रको सम्भावनालाई थप मद्दत पुग्ने अपेक्षा सहित उनले यस्तो प्रस्ताव गरेका हुन् । रुसको कजानमा ब्रिक्स प्लस बैठकका क्रममा पुटिनले विश्वव्यापी आर्थिक वृद्धिको अर्को लहर विश्वको बहुलता भएका देश अर्थात् ब्रिक्सका सदस्य राष्ट्रहरुमा देखिने प्रस्ट भएको बताएका हुन् । 

आफ्नै मञ्च निर्माण गरेर ब्रिक्स राष्ट्रहरूले दक्षिण र पूर्वका देशहरुमा ठूला पूर्वाधार र प्रविधि परियोजनाहरूमा लगानी बढाउने योजना पुटिनको छ । यसैबीच रुसको कजानमा सम्पन्न १६औं ब्रिक्स सम्मेलन पछि सदस्य राष्ट्रका नेताहरूले संयुक्त राष्ट्रसंघ–यूएनको सुधार देखि चलिरहेको विश्वव्यापी द्वन्द्व सम्मका विभिन्न विषयहरूलाई समेटेर संयुक्त घोषणापत्र जारी गरेका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घोषणा पत्रमा कुल १ सय ३४ वटा प्रावधान उल्लेख गरिएको छ ।  त्यसमा राष्ट्रसंघको सुधारको विषयलाई पनि समेटिएको छ । ब्रिक्स नेताहरूले राष्ट्रसंघ र विश्व व्यापार संगठन, केन्द्रीत व्यापार संयन्त्रलाई समर्थन गर्दै अझ न्यायपूर्ण विश्व व्यवस्था सिर्जना गर्न बहुपक्षीयतालाई बलियो बनाउन संयुक्त रुपमा आह्वान गरेका छन्  । 

विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्दै, ब्रिक्स नेताहरूले रूस–युक्रेन द्वन्द्व र गाजामा मानवीय संकटको शान्तिपूर्ण समाधानको लागि समेत संयुक्त रुपमा आह्वान गरेका छन् । नेताहरूले तत्काल गाजामा युद्धविराम र प्यालेस्टाइनलाई राष्ट्रसंघको सदस्यताका लागि पहल गरेका छन् । 


 

प्रतिक्रिया