मिथिला क्षेत्रमा विवाहपञ्चमी महोत्सवको तयारी शुरु

काठमाडौं । मधेशको मिथिला क्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाह पञ्चमीको भव्यताका लागि प्रदेश सरकारले तयारी थालेको छ । 

सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवमा गरिनुपर्ने व्यवस्थापकीय कामको सूची तयार गरी सो अनुरूप अघि बढ्न मधेश प्रदेश सरकारले कार्यदल नै बनाएर तयारी थालेको हो । 

त्रेतायुगमा अयोध्याका राजा दशरथका श्रीराम सहितका चार जना पुत्र र विदेहराज मिथिला नरेश शिरध्वज जनक र उनका भाइ कुशध्वजका छोरीहरू सीता सहित चार जना दिदीबहिनीको विवाह भएको मङ्सिर शुक्ल पञ्चमी तिथिका अवसरमा विवाहपञ्चमी महोत्सव मनाइने पुरानो मैथिल परम्परा हो । 

यसपालि यो सांस्कृतिक पर्व आगामी मङ्सिर २१ गते शुक्रबार परेको छ । महोत्सवमा विवाह अघि र पछिका विधि मिथिलाका स्थापित  परम्परा र प्रचलित कर्मकाण्डीय विधान अनुसार गरिने चलन छ । यसका लागि प्रत्येक दिनका विधि अनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिन्छन् ।

प्रतिक्रिया