डेङ्गु नियन्त्रण प्रयासः आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गुको महामारी फैलन नदिन  शुक्रबार देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ । 

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । “डेङ्गु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोर लगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान शुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्ताव अनुसार नै डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो”, उनले भने । 

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार शुक्रबार बिहान १० बजे आ–आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशन समेत दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेङ्गुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले शुक्रबार बिहान १० बजे देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिए । उनले डेङ्गु नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेका छन् । 
रासस 

प्रतिक्रिया