विद्युत् प्राधिकरणले काट्यो उद्योगहरूको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगहरूको बिजुली काटेको छ । 

प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगले थप दस्तुर सहित तिर्नुपर्ने बिजुलीको महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानूनबमोजिम असुल गर्ने सूचना निकालेको थियो । महसुल तिर्न दिएको समय बिहीबार सकिए सँगै प्राधिकरणले बिहीबार राति उद्योगको बिजुली काटेको हो । 

प्राधिकरणले विद्युत् महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको हो । प्राधिकरणले सोनापुर, अर्घाखाँची र घोराही सिमेन्टको विद्युत् लाइन काटेको छ । त्यस्तै, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योग लगायत कारखानाको पनि विद्युत् काटेको हो । 

भैरहवा क्षेत्रमा मात्रै ठूला १६ उद्योगमा लाइन काटिएको छ । अन्य बुटवल, दाङ, वीरगञ्ज क्षेत्रका उद्योगमा  पनि लाइन काटिएको छ । किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका पाँच उद्योग र अदालत बाट अन्तरिम आदेश पाएको एउटा उद्योग बाहेक सबै उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।  

डेडिकेडेट फिडर र ट्रंकलाइन मार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ साल देखि विद्युत् प्राधिकरण र उद्योगीहरू बीच विवाद भइरहेको छ । 

प्रतिक्रिया