राष्ट्रिय स्वतन्त्र पार्टीले आज देखि काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्दै शुक्रबार देखि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । 

पार्टी सभापति रवि लामिछाने पक्राउ परे पछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको पार्टीले बिहीवार पोखरामा पत्रकार सम्मेलन गर्दै अब पोखराको प्रदर्शन रोकेर काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जनाएको हो । 

पत्रकार सम्मेलनमा रा.स्व.पा.का नेताहरुले सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको आरोप लगाए । उपसभापति डा. स्वर्णिम वाग्लेले बयानमा गरिएको ढिलाइले रवि लामिछाने माथि राजनीतिक प्रतिशोध नै साँधिएको दाबी गरे । 

रा.स्व.पा.का कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पीडितलाई रा.स्व.पा.का कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् । झाले सहकारी पीडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबी गर्दै नक्कली पीडितले प्रदर्शन गरिरहेको समेत दाबि गरे । 

रा.स्व.पा.ले सहकारीको मुद्दालाई सडक र सदन बाट निरन्तर उठाउने नेता हरि ढकालले बताए । सहकारी पीडितको ८७ अर्बको कुरा गर्दा ६५ करोडको मात्रै कुरा निकाल्ने र एउटै बोर्डमा भएको कोही राष्ट्रपतिको सल्लाहकार हुने कोहीलाई थुन्ने कुराले नै पूर्वाग्रह पुष्टि भएको रा.स्व.पा.को भनाइ छ ।

शुक्रबार दिउँसो १ बजे काठमाडौं स्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको रा.स्व.पा.ले जनाएको छ । 

प्रतिक्रिया