धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए  नभएको बारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदा देखि सिकेका हुन् । 

धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् । राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुराम सँगै निस्कन्छन् । साँझ अबेर सम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यस बाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् । 

पाहुनालाई अन्य परिकार सँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो । “खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन”, बुधरामले भने, “त्यहीँ भएर मुसा मार्न साथीभाइ सँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ ।” धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन् । दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन् । “मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ”, भागिरामले भने, “थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ ।” 

बुबाबाजे सँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरी सँग छ । अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र पर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो । निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्ज भित्र पर्यो ।  मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो । समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो । “एक जनाको हिस्सामा ५० देखि ६० वटा सम्म मुसा आउने गर्दथे”, उनी  भन्छन्, “अहिले मुसाको सङ्ख्या निकै कम छ, दिन भर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छन् ।”

अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो । समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ । यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन् ।

थारू समुदायमा मुसा सिकार (मार्ने) गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँ देखि चल्दै आएको छ । “पहिले मुसाको सिकार गर्न गाउँ गाँउ बाट हुलकाहुल जाने गर्दथे”, रामबहादुर चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके ।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थाले पछि पहिला जस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्ष माथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन् ।

थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसके पछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए । 

हाल वन क्षेत्रमा मुसा लगायत अन्य जीवजन्तुको सिकार गर्न प्रतिबन्ध लागे पछि खेतमै मुसा मार्ने कार्य गर्दै आएका छन् । शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रूपमा, लौकाको तरकारी सँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ । थारू समुदायले सबै भन्दा बढी लौकाको तरकारी सँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको रामप्रसाद चौधरी बताउँछन् ।
 
थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डी लगायत जातका मुसाको सिकार गर्ने गर्दछन् । सिकार गरिएका मुसामा भाले (मुसण्डा), पोथी (मुसण्डी), वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहने गर्दछन् । विल (दुलो) खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन् ।

पहिला थारू समुदायले मात्र मुसाको सिकार गरीखाने गर्दै आएकामा हाल गैर थारूहरूले पनि मुसाका परिकारको माग गर्ने गरेका छन् । मेला, उत्सव र सामुदायिक घरबासमा मुसाको मासु बिक्री हुने गर्छ । पहिला जस्तो मुसा नपाइने गरेकामा थारू बूढापाका असन्तुष्ट छन् ।
रासस 

प्रतिक्रिया