नेपालमा वर्षेनी ७ देखि ८ हजार किलो सुन वैध रुपमा भित्रिने गरेको तथ्यांक
नेपालमा वर्षेनी सात देखि आठ हजार किलोको हराहारीमा वैध सुन भित्रिने गरेको तथ्याङक छ । नेपालमा बारम्बार अवैध रुपमा सुन भित्रिरहदा सुन व्यवसायी नै विस्थापित समेत हुन सक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
२०७१/७२ यता स्थल र हवाई मार्गबाट अवैध रुपमा भित्रिएको छ सय ६५ केजीभन्दा बढी सुन सुरक्षा निकाय, भन्सार र राजस्व प्रशासनका विभिन्न निकायले हङकङ, दुबई, चीनलगायत विभिन्न मुलुकबाट भित्रिएको सुन बरामद भएका छन् । तीन वर्ष यता मात्र ६६ किलो भन्दा बढि मात्राको सुन अवैध रुपमा नेपाल भित्रिएको छ । बारम्बार उच्च परिणामको सुन अवैध रुपमा भित्रिरहदा र सुन तस्करी मौलाइरहँदा सुन व्यवसायीहरु माथि नै प्रश्न उठ्न थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र सुरक्षा निकायको मिलमतोमा हरेक पटक बढि परिणामको सुन भित्रिरहदा त्यसको मारमा भने व्यवसायी परेका छन । तस्करीका घटनालाई राज्यले गम्भीर रुपमा नलिदा सुन व्यवसायीहरु विस्थापित समेत हुदै जान सक्ने भन्दै नेपाल सुन चादिँ व्यवसाय महासंघले चिन्ता व्यक्त गरेको छ ।
महासंघको अनुसार हाल व्यवसायीहरुले वर्षको ४ हजार किलो अर्थात दैनिक रुपमा १० केजी सुन व्यवसायका लागी प्राप्त गर्दै आएका छन् । गत वर्ष दैनिक रुपमा २० केजी सुन प्राप्त गर्दा ८ हजार किलो सुन वैध रुपमा भित्रिएको महासंघले जनाएको छ । दैनिक रुपमा २५ देखि ३० केजीको हराहारीमा सुन उपलब्ध गराए अवैध रुपमा भित्रिने गरेका सुन केही हदसम्म न्युनिकरण गर्न सकिने व्यवसायीको भनाई छ ।
भन्सार विभागको वैधानिक तथ्याङ अनुसार भने नेपालमा वार्षिक नेपाली औसतमा २३ अर्ब ३ करोड ५६ लाख रुपैयाँ बराबरको सुन खरिद गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार १० वर्षमा २ खर्ब ३० अर्ब ३५ करोड ६७ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । १० वर्षमा ४५ हजार ७ सय ७९ केजी सुन नेपाल भित्रिएको छ । यो नेपालमा वैधानिक रुपमा आयात भएको सुनको तथ्याङ्क हो । तर, अवैध रुपमा भित्रने सयौं केजी सुनको भने तथ्याङ्क छैन ।
प्रतिक्रिया