नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरु गरिएको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पाण्डेले नेपालको आकाशमा देखिने समस्याको कारण पत्ता लगाउन अध्ययन सुरु गरिएको बताएका हुन् ।

मन्त्री पाण्डेले भने, “नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकाशलाई कसरी सुरक्षित गर्ने र गतिशील बनाउने भन्ने सन्दर्भमा अध्ययन भइरहेको छ । अध्ययनपछि बन्ने नीति र नीतिपछि बन्ने कानुन,  कानुनले निर्धारण गर्ने विभिन्न संरचना के हुन सक्छन भन्ने विषयले महत्व राख्छ ।” 

आकाशलाई सुरक्षित र गतिशील बनाउन मन्त्रालयले काम अघि बढाइसकेको र चाँडै यसको परिणाम मन्त्रालयले प्राप्त गर्ने मन्त्री पाण्डेको भनाइ थियोे । 

भरतपुर विमानस्थल विस्तारको कामका लागि नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेको उनले बताए । उनले विमानस्थल विस्तारको विषयमा आफूले सरोकारवाला निकायसँग निरन्तर छलफल गरिररहेको बताए ।

मन्त्री पाण्डेले मन्त्रालयका छुट्टाछुट्टै तीन विभागमा नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा जोड दिइएको बताए ।

प्रतिक्रिया