भारतमा “दाना”आँधीबाट प्रभावित हुनसक्ने भन्दै १५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । भारतमा चक्रावत आँधी “दाना”का कारण पूर्वी राज्यहरू ओडिशा (पहिले उड़ीसा) र पश्चिम बंगालका तटीय क्षेत्रका १५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । 

चक्रवात दानाबाट हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ । बङ्गालको खाडीबाट आएको चक्रवाती तूफान ‘दाना’ अहिले तीव्र गतिमा अघि बढिरहेको छ । ओडिशामा बिहीबार बिहानैदेखि हावाहुरीसहित भारी वर्षा भइरहेको छ ।

यातायात सेवा  प्रभावित भएको छ, धेरै रेल र उडानहरू रद्द भएका छन्।  ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाहरूमा बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्नको लागि व्यवस्था गरिएको बताए। खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारिएको छ । भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात दाना १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिमतर्फ सरिरहेको छ ।
 

प्रतिक्रिया