सय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्ने

काठमाडौं । संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ । संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि दफावार छलफल गर्न लागेको हो ।

तिहारपछि तीन वटा उपसमिति बनाएर विधेयकमा छलफल गर्ने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

आफ्नो कार्यकालको पहिलो सय दिन पुगेको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले तिहारपछि विधेयकमा छलफल गरिने बताएकी हुन् ।

‘तिहार पछाडि निरन्तर छलफल हुनेछ । असाध्यै धेरै संशोधन परेकाले तीन वटा उपसमिति बनाएर छलफल गर्नेगरी तयारी छ । समितिसँगको छलफलका क्रममा यो कुरा आएको हो,’ उनले भनिन् ।

विधेयकमा आएका सुझाव, सरोकारवालाको तर्फबाट आएका विषयहरू तथा धेरै संशोधनका विषयलाई सम्बोधन गर्ने गरी उपसमिति बनाउन लागिएको हो । तिहार पछाडि छलफललाई तीव्रताका साथ अगाडि बढाउने समिति र मन्त्रालयबिच समझदारी भएको उनको भनाई छ ।

मन्त्री भट्टराईले  बाढी पहिरोका कारण क्षतिग्रस्त विद्यालयहरूमा तिहार पछाडि पठनपाठन गराउने गरी तयारी भइरहेको उनको भनाइ छ । शिक्षक सरुवाको विषय अदालत विचाराधीन अवस्थामा रहनुका साथै अदालतबाट यथावत् अवस्थामा रोक्न नभनेकाले काम अघि बढिरहेको बताइन् ।

प्रतिक्रिया