छविलाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका  पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

बिहीबार नै अदालतले सहकारी ठगीमै पक्राउ परेकी लीला पछाईंलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । यसअघि अदालतले प्रहरीलाई अनुसन्धानका लागि पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । आज सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । ६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् । गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग गरेको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा पनि चलाइएको छ ।।

प्रतिक्रिया