विश्व पोलियो दिवस : नेपाल पनि पोलियोको जोखिममा

काठमाडौं ।  बिहीबार नेपाल सहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । 

दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन् । उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एक/एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन् । 

मन्त्री पौडेलले सुइबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक/एक पटक लगाउनुपर्ने बताएका छन् । “अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापरि रहेका छन्, विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ”, उनले भने, “हाम्रो देशको सन्र्दभमा पनि वातावरणमा पोलियो भाइरस भए/नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।”

संसार बाट पोलियो रोग उन्मुलन नभए सम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाइ रहेको छ  । उनले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गरेका छन् । 

मन्त्री पौडेलले पोलियो खोप सँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउन समेत अनुरोध गरेका छन् । पोलियो रोग पोलियो भाइरस बाट हुने सङ्क्रामक रोग हो । पोलियो लागे पछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्यु सम्म हुने गर्दछ । 

पोलियो रोग दुषित खाना र पानीको माध्यम बाट एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने गर्दछ । नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुख बाट र सुइ बाट दुई तरिकाले पोलियो विरुद्धको खोप प्रदान गरिँदै आइएको छ । 

मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ । 

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर, बढी जसो पाँच वर्ष मुनिका बालबालिका बढी जोखिम हुने गरेको बताए । पोलियो बाट बच्नका लागि पोलियो विरुद्धको खोप नै लगाउनु पर्ने उनको भनाइ छ । पोलियो बाट बच्नका लागि साथै व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ । 

गत जेठमा टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुमा पोलियो जिवाणु भेटिए पछि काठमाडौं उपत्यकाका तीन जिल्लामा पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो । 
रासस 

प्रतिक्रिया