युरोपमा मुस्लिम विरोधी भेदभाव तीव्र

एजेन्सी । इजरायल विरुद्ध हमासको आक्रमणले युरोपमा मुस्लिम विरोधी घृणामा तीव्र वृद्धि भएको उल्लेख गर्दै युरोपका मुस्लिमहरूले अझ बढी जातिवाद र भेदभावको सामना गरिरहेको युरोपेली सङ्घ (ईयू)को अधिकार एजेन्सीले जनाएको छ । 
 
‘युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए)’का अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा प्रतिशोधात्मक आक्रमण शुरु भए पछि धेरै ईयू राष्ट्रहरूले मुस्लिम विरोधी कार्यहरूमा वृद्धि भएको जनाएका छन् । 
 
“हमासको आक्रमणपछि मुस्लिम विरोधी घृणा र यहूदी विरोधी भावना बढेको कुरा प्रकाशमा ल्याउने थुप्रै युरोपेली सङ्घका देश बाट आएका रिपोर्ट बारे हामी सचेत छौं”, एफआरएका प्रवक्ता निकोल रोमेनले बताए । 

युरोपेली सङ्घमा लगभग दुई मध्ये एक मुस्लिमले आफ्नो दैनिक जीवनमा जातिवाद र भेदभावको सामना गर्छन्, जुन सन् २०१६  मा एफआरए सर्वेक्षणको अन्तिम संस्करणमा फेला परेको ३९ प्रतिशत बाट तीव्र वृद्धि हो । भेदभावको सबै भन्दा बढी दर अस्ट्रिया, जर्मनी र फिनल्यान्डमा रेकर्ड गरिएको छ । 

“हामीले युरोपमा मुस्लिम समुदाय विरुद्ध जातिवाद र भेदभावमा चिन्ताजनक वृद्धि देखिरहेका छौं”, एफआरएका निर्देशक सिर्पा राउटिओले भने । “यो मध्यपूर्वमा द्वन्द्वले उत्प्रेरित भएको हो र महाद्वीपभरी देखिएको अमानवीय मुस्लिम विरोधी प्रदर्शनले स्थिति अझ खराब बनाएको छ”, राउटिओले बताए । 

सन् २०२१ को अक्टोबर देखि  सन् २०२२ को अक्टोबर सम्म १३ वटा युरोपेली देशका ९ हजार ६ सय भन्दा बढी मुस्लिमहरुको सर्वेक्षण गरिएको थियो । 

मुस्लिम महिला, पुरुष र बालबालिकाहरू धर्मका कारण मात्र नभई छालाको रङ र जातीय वा आप्रवासी पृष्ठभूमिका कारण पनि हिंसामा परेको एफआरएले उल्लेख गरेको छ । 

प्रतिक्रिया