उत्तर कोरियाले अक्टोबरमा ३ हजार सेना रूस पठाएको अमेरिकाको दाबी

एजेन्सी । उत्तर कोरियाले ३ हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको ह्वाइट हाउसले जनाएको छ ।  ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेन सँग लड्न रुस जाँदै गरेको सार्वजनिक सुचना पाएको बताएका छन् । 

सेना उत्तर कोरियाको वोनसन बाट रूसको भ्लाडिभोस्टोक सम्म जहाज मार्फत गएको बताउदै  हाल उनीहरु रूसी सैन्य प्रशिक्षणमा रहेको बताएका छन् । प्रशिक्षण पछि  सैनिकहरूले युक्रेनी सेना विरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उनले व्यक्त  गरेका छन् । 

किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउदै  उत्तर कोरियाले मस्को र किभ बीचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रूस कायरतालाई उजागर गर्ने उल्लेख गरेका छन् । 
  
युक्रेन विरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउदै  किर्बीले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरित युक्रेन सँग द्वन्द्व जारी राख्न चाहेको बताएका छन् । 

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै  अमेरिका युक्रेनलाई थप युद्व सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेको समेत जानकारी दिएका छन् । 

युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उनले आगामी दिनमा अमेरिकाले युक्रेन विरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाएका छन् । 
रासस 

प्रतिक्रिया